हेटौंडामा पनि विश्व अटिजम सचेतना दिवस मनाइयो (तस्वीरहरु)
देशभरी जस्तै आज हेटौंडामा पनि विश्व अटिजम सचेतना दिवस मनाइएको छ ।
दिवसका अवसरमा सेन्टर फर अटिजम हेटौंडाले अन्तरक्रिया तथा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो । हेटौंडा ४ कर्रामा रहेको सेन्टरको आफ्नै भवनमा आज बिहान अन्तरक्रिया तथा साँझ बुद्ध चोकमा दिप प्रज्वलन गरिएको हो ।
अटिजम भएका बालबालिकाका अविभावक तथा सरोकारवाला बिच भएको कार्यक्रममा प्रमुख अतिथी ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले सेन्टरलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
यस्तै साँझ गरिएको दिप प्रज्वलनमा प्रमुख अतिथी बालरोग विशेषज्ञ डाक्टर हरि खड्काले अटिजमलाई कुनै रोगका रुपमा नलिन र अटिजम भएका बालबालिकाको मनोभावना अनुरुप व्यवहार गर्न आग्रह गर्नुभयो ।
सर्वसाधरणले अटिजम बारे बुझ्नु जरुरी रहेको भन्दै सेन्टरले यस वर्षदेखि प्रत्येक वर्षको अप्रिल २ तारिखमा विभिन्न सचेतानामूलक कार्यक्रम गर्ने जनाएको छ। सेन्टरमा हाल १५ बालबालिका रहेका छन् । अटिजम बारे कुरा गरौं, जानौं, पहिचान गरौं, सिकौं र सिकाउ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइएको छ ।