हेटौंडामा भोलीदेखि दोस्रो जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता हुने

छहारी संवाददाता
३ चैत्र २०७९, शुक्रबार ०१:४२

हेटौंडामा शनिबारदेखि दोस्रो जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयो । हेटौंडा– ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिता चैत ११ गतेसम्म चल्नेछ । उद्घाटन खेलमा शनिबार कैलाश र भीमफेदीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै चैत ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर तथा चैत ६ गते गढी र इन्द्रसरोवरबीच खेल हुनेछ । कैलाश र भीमफेदीबीचको विजेतासंग मनहरीले एवं चैत ५ गते हुने राक्सिराङ र थाहाबीचको बिजेतासंग बागमतीले खेल्नेछ । मनहरी र बागमतीले ‘बाइ’ पाएका छन् ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अघिल्लो संस्करण थाहा नगरपालिकाले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*