चार वर्षपछि हेटौंडा वडा नम्बर १४ को आफ्नै भवनबाट कार्य सम्पादन सुरु

छहारी संवाददाता
पुस २८, २०७८

चार वर्षपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ ले आफ्नै भवनबाट कार्य सम्पादन सुरु गरेको छ ।

कार्य सम्पादनका लागि घर भाडामा लिएको वडा कार्यालयले मंगलबारदेखि आफ्नै भवनमा सेवा सुरु गरेको हो । नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गर्नु भएको हो । उपमहानगरपालिकाको ४५ लाख लागतमा ४ कोठे भवन र ६३ लाख लागतमा ५ कोठे स्वास्थ्यचौकी निर्माण भएका हुन् । दुवै भवन एकै ठाउँबाट सेवा लिन मिल्ने गरी निर्माण गरिएको छ ।

स्वास्थ्यचौकीमा गर्भवती सेवा, खोप, भिटामिन, स्वास्थ्य उपचार, दादुरररुबेला विरुद्धको खोप लगायत नेपाल सरकारले वितरण गर्ने सम्पूर्ण सेवाहरु उपलब्ध हुने स्वास्थ्यकर्मी अंशुु लामाले जानकारी दिनुभयो । नयाँ भवन उद्घाटन पछि मेयर महतले व्यवस्थित ढंगले वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण गरिएकोमा वडा अध्यक्षलाई धन्यवाद दिँदै वडा विकासका काममा १४ नम्बर वडा १ नम्बरमा रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष दीपक खड्काले आफू निर्वाचित भएपछि वडामा धेरै विकासका कामहरु भएको भन्दै आगामी दिनमा पनि राम्रो काम गर्ने बताउनुभयो । कार्यक्रममा वडामा रहेर उत्कृष्ट कार्य गरी योगदान पु¥याएका ज्येष्ठ नागरिक, बक्सिङ, भलिबल र फुटबल खेलाडी, प्रशिक्षक, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कानुन व्यवसायी, चित्रकला, उपभोक्ता समिति, समाजसेवीलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यकारी प्रमुख शिवराज चौलागाई, वडा सदस्यहरु चमेली सिञ्जालीमगर, चन्द्रबहादुर स्यांतान, कमला दर्नाल र रामबहादुर तामाङ लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*