पत्रकार सुत्केरीभत्ता कार्यक्रमको सर्वत्र स्वागत, नेपालमै पहिलो भत्ता पाउने पत्रकार बिष्ट

छहारी संवाददाता
पुस २१, २०७८

नेपालमा नै पहिलोपटक मकवानपुरमा पत्रकार महिलालाई  सुत्केरी भत्ता कार्यक्रम लागू भएसंगै पत्रकारसंबद्ध सबै संस्थाहरुले स्वागत गरेका छन् ।

प्रेस सेन्टर मकवानपुरले ल्याएको उक्त कार्यक्रम मकवानपुरकी सुत्केरी पत्रकार सनिता विष्टबाट सुरुवात गरिएको छ । प्रेस सेन्टर मकवानपुरको कार्यसमितिले विष्टको घरमा पुगेर न्यानो कपडा र पौष्टिक आहारसहित भत्ता प्रदान गरेको हो । सुत्केरी भत्ताले थोरै भएपनि आर्थिक सहयोग भएको भन्दै पत्रकार विष्टले खुसी व्यक्त गर्नुभयो ।

सुत्केरी अवस्थामा बिदा पाएपनि अतिरिक्त सुविधा भने नपाउने कारण पनि यस्ता कार्यक्रमहरुले नै महिला पत्रकारलाई हौसला प्रदान गर्ने उहाँको धारणा छ । महिला पत्रकार दुदुमाया सिन्तानले सुत्केरी पत्रकारलाई हेर्ने दृष्टिकोण नै गलत लागिरहेको बेलामा आएको पत्रकार सुत्केरीभत्ता कार्यक्रमले सुत्केरी अवस्थामा पनि साथ दिने कोही छ भन्ने सन्देश जाने बताउनुभयो । यस्ता कार्यक्रमहरुको खुलेर स्वागत गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै संचारिका समूह मकवानपुरकी अध्यक्ष संझना रिजालले पनि उक्त कार्यक्रमको स्वागत गर्दै अबको दिनमा सुत्केरी भत्तासंगै सुत्केरी पत्रकार लेखनवृत्ती कार्यक्रम ल्याउन पनि सुझाउनुभयो । महिला पत्रकारलाई सुत्केरी अवस्थामा आर्थिक सहयोगको साथसाथै थोरै समयमा नै काममा क्रियाशिल बनाउन यस्ता कार्यक्रमहरुले बल पुग्ने उहाँको भनाई छ ।

सुत्केरीभत्ता कार्यक्रमले मकवानपुरका महिला संचारकर्मीहरुलाई उत्साहित बनाएको छ । सामाजिक संजालहरुमा महिला संचारकर्मिहरुले उक्त कार्यको स्वागत गरिरहेका छन् ।

त्यसैगरी प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ९कुमार० ले प्रेस सेन्टर मकवानपुरले थालनी गरेको कार्य स्वागतयोग्य रहेको बताउनुभयो । महिला पत्रकारहरुको क्षेत्रमा प्रेस सेन्टरले नयाँ किसिमका कार्य गरिरहेको भन्दै उहाँले धन्यवा समेत दिनुभयो । यस्ता कार्यक्रमहरुले महिला संचारकर्मीहरुप्रति न्याय गर्ने उहाँको भनाई छ ।

प्रेस सेन्टर मकवानपुरले सराहनिय कामको थालनी गरेको प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । कार्यक्रमको बिषयमा प्रतिक्रिया दिंदै उहाँले आफुले पनि पत्रकार महासंघ मकवानपुरको चुनावमा उम्मेदवारी दिंदै गर्दा यस्ता बिषयहरु उठाएको बताउदै यस्ता कार्यक्रमहरुले महिला पत्रकारहरुलाई संचारक्षेत्रमा टिकाउन मद्दत गर्ने बताउनुभयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् प्रेस सेन्टरका केन्द्रिय सदस्य सनिल खड्काले प्रेस सेन्टर मकवानपुरले देशमा कसैले नगरेको कार्यको थालनी गरेको र यसले सुत्केरी पत्रकारको प्रसवपिडामा थोरै भएपनि मलम लगाउन सकिने बताउनुभयो ।

सेन्टरले गरेको निर्णयमा संगठनको केन्द्र र पत्रकार महासंघले पनि अपनत्व लिएर देशव्यापी बनाउनु पर्नेमा खड्काले जोड दिनुभयो । केन्द्रिय सदस्य खड्काले महिला प्रजनन लगाएत स्वास्थ्य क्षेत्रको साथै कार्यस्थलमा समेत महिलामैत्री वातावरण बनाउन पनि अबका दिनमा संगठनले जोड गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*