नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमा अनावरण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस बिहिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यसैक्रममा हेटौंडा ५ मा रहेको पुष्पलाल पार्कमा निर्मित पुष्पलाल श्रेष्ठको प्रतिमा (शालिक) अनावरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले श्रेष्ठको प्रतिमा(शालिक)अनावरण गर्नु भएको हो ।
नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो ।
उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो । पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले
मकवानपुरले आयोजना गरेको शालिक अनावरण कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ सहित एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।