राष्ट्रिय बृक्षरोपण दिवस हेटौंडामा यसरी मनाईयो(तस्वीरहरु)

छहारी संवाददाता
असार १४, २०७८

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिष्य बृक्षरोपण दिवसको अवसरमा आज बिहान हेटौंडा–४ हुप्राचौरमा बृक्षारोपण गरिएको छ ।

मन्त्रालयले सडक किनारा बृक्षारोपण कार्यक्रम अन्तरगत हुप्राचौर क्षेत्रमा बृक्षारोपण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले शहरमा बृक्षा रोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो । यो अभियानलाई प्रदेशका सबै जिल्लामा पुर्याउने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश स्तरिय उत्कृष्ट निजी वन पुरस्कार बितरण कार्यक्रम पनि भएको छ ।

मन्त्रालयका सचिव डाक्टर सिन्धुप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रदेशभरीमा उत्कृष्ट निजी वनमा धादिङका निजी वन धनी थल कुमारी सिंखडा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ का गोपाल प्रसाद सञ्जेललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनहरी २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको मन्त्रालयका अधिकृत सन्जिब सुवेदीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले स्थापना भए पश्चात वृक्षारोपणलाई प्राथमिकतामा राखि तपसिल बमोजिमका कार्यहरु सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६–०७७ मा ११ लाख काष्ठ तथा गैह्रकाष्ठ जन्य, फलफूल लगायतका विरुवा उत्पादन भएको तथा ३ सय ३४ हेक्टर सरकारी र निजी वन क्षेत्रमा वृक्षारोपण गरिएको मन्त्री सरेश नेपालले बताउनुभयो ।

विद्यालयहरुमा एक विद्यार्थी एक विरुवा कार्यक्रम, शहरी क्षेत्रमा एक घर दुई विरुवा कार्यक्रम र स्थानीय तहमा एक वडा एक वन बगैंचा कार्यक्रम कार्यान्वयन गरिएको छ ।

चालु आर्थिक वर्षमा चुरे तथा महाभारत क्षेत्रका खहरे तथा खोल्सीहरुमा वृहत बाँस रोपण कार्यक्रम संचालनमा रहेको र १० लाख भन्दा बढी गुणस्तरीय विरुवा उत्पादन हुने क्रममा रहेको मन्त्री नेपालले बताउनुभयो । आगामी आर्थिक वर्षमा वर्षमा उच्च प्रविधिको २ वटा नर्सरीको आधारभूत पूर्वाधार तयार हुने उहाँले बताउनुभयो । एक स्थानीय तह एक वन नर्सरी संचालन गर्नेछ ।

खाली तथा वाँझो जमिनमा चेपाङ लगायत पछि परेका समुदायको जीविकोपार्जनमा टेवा पुर्याउन व्यावसायिक चिउरी, टिमुर, लौंठ सल्ला, कुरिलो, चिराईतो, सतुवा लगायतका प्रजाती तथा सामुदायिक, कबुलियती र निजी जमिनमा वनजन्य फलफूल, काष्ठ तथा गैह्रकाष्ठ विरुवा वृक्षारोपण गर्ने कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको मन्त्री नेपालले बताउनुभयो ।

वृक्षारोपण तथा रोपण गर्ने विरुवाको गुणस्तर तथा विरुवा हेरचाह र संरक्षण गर्ने मापदण्ड बनाई कडाईका साथ लागू गराउने कार्यक्रम रहेको छ । आजै पनि प्रदेशका १५ वटै डिभिजन वन कार्यालयहरुको समन्वयमा १३ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम सञ्चालन हुँदै गरेको छ । साभारः जनपत्र अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*