संकल्प

रचनाकारः मिथिला अधिकारी
१३ असार २०७८, आईतवार २१:५७

संकल्प

असारको यो बेला कति रमणीय दृश्य छ कतै
कतै दुर्भाग्यले सब थल ढुबेको छ सहजै
नजान्दामा पैले अति विपत यो दुख हुन गो
सबै बृक्ष मासी वन पखेरु नै खाली हुन गो ।।

जमिन खाली भैगो कुन संग रहोस त्यो भर गरि
प्रकृतिको दोहन गरि गरि सबैले मन परि
नपर्दा आपत क्यै जब तक सहज हुन्छ समय
नसोच्ने बानीले कतिकति विपति परि रहे ।।

नजन्ताले जानिउ नत छ भर क्यै राज्यतिरको
परो आपत ऐले तब जन रुदै गर्छ पिर यो
कतिका घर छैनन् कति हुन गय मृत्यु वसमा
मुटु यो चर्किन्छ हर बखत त्यो दृश्य मनमा ।।

अतिनै डर लाग्दो गरि प्रकृति ले रुप धरदा
सधैं दैवी आपत विपत जनले भोग्नु परदा
अझै हामी लाई किन नभयको चेत मनमा
कति यस्ता आपत अरुअरु पनि आई भवमा ।।

सबै पारि दिन्छ तहस नहसै यो धरतीको
नगर्दा संरक्षण वन र विरुवा यो प्रकृतिको
यो विपत भोग्दैछौ विगत मनमा चेत नहुँदा
सधैं ख्याल ख्याल सम्झी प्रकृति संगनै खेली रहँदा ।।

पुरिंदैनन घाऊ तर पनि सहनै छ सबले
अझै यस्ता विपत कति कति बेहोर्नु छ जनले
न आसै राज्यको न त छ भर कोहि अरु कतै
जुटौं हातेमालो गरिकन सबै एक जुट हुदैं ।।

ई ढुंगा वालुवा प्रकृति निधि हुन ई अब बुझौं
न मासौं यसलाई सचेत भई रक्षा अब गरौं
गरौ रक्षा हामी अब सब मिलि वातावरणको
जुटौ संरक्षण मा वन र विरुवा यो प्रकृतिको ।।

अरुको मुख ताक्ने अरुसंग कुनै आश नगरौं
स्वयम् जागौं लागौं प्रकृति संग खेलवाड नगरौं
सचेत होस् यो राज्य जनता पनि आफै बुझी दिऊ
लगाऊ जोगाऊ विरुवा वन संकल्प यो गरौं ।।

रचनाकारः मिथिला अधिकारी ।

(२०७८ असार ११ गते शुक्रवार साँझ जुमको माध्यामद्वारा पतंजली योग संदेश भक्तपुरले संचालन गरेको हाम्रो संस्कृति हाम्रो साहित्य कार्यक्रममा प्रस्तुत रचना ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*