हेटौंडामा सोमबार बिहानै थप एक कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।
बाराको अमलेखगंज बस्ने ४६ वर्षका एक पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । ती संक्रमितको बिहान ६ बजेर २२ मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । गएराती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृत्यु थियो ।
योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ३६ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट हिजो र आज गरी दुई जनाको मृत्यु भएको हो ।
यसैबीच अस्पतालमा कोरोना संक्रमितको चाप बढेको भन्दै आजदेखि हेटौडा अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । २० बेडको सेवाले बिरामीको चापलाई धान्न नसक्ने भएकोले ओपिडी बन्द गरी कोरोना संक्रमितलाई उपचार गर्न लागिएको अस्पतालले जनाएको छ । अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द रहनेछ ।






