नेपालको संक्रमणदर विश्वकै उच्च, दैनिक झण्डै २ लाख संक्रमित थपिन सक्ने
नेपालमा पनि प्रत्येक दिन कोरोना संक्रमित बढिरहेको छ । आज झण्डै ५ हजार व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा भाइरोलोजिष्ट डा. अर्चना श्रेष्ठले नेपालको संक्रमण अवस्था भारतको भन्दा खराब रहेको बताउनुभयो ।
उहाँले अहिले नेपामला १ जना व्यक्तिले २ जनालाई संक्रमित बनाइरहेको देखिएको बताउनुभयो । यही दरमा संक्रमण बढिरहे र नियन्त्रण गर्न नसके नेपालमा दैनिक नयाँ संक्रमितको संख्या झण्डै २ लाख हुने अवस्था आउने चेतावनी उहाँले दिनुभयो ।
विश्वको संक्रमणदरको अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै नेपालमा अहिलेकै गतिमा संक्रमण बढिरहे दैनिक १ लाख ९३ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण उहाँले गर्नुभयो । यो अवस्था एक महिनाभित्रै नै आउनसक्ने उहाँको भनाइ छ ।
संक्रमणको मात्रै नभई मृत्युदर पनि बढ्नसक्ने भन्दै उहाँले नेपालले दैनिक १५० संक्रमितलाई गुमाउनपर्ने परिस्थिति आउन सक्ने बताउनुभयो । उहाँले संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सर्वसाधरणलाई अपिल गर्नुभयो । साभारः हेल्थ पाटी डटकम ।