कोरोना अपडेटः कर्णालीमा थप तीन संक्रमितको मृत्यु

कर्णाली प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन्।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गएराति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. के एन पौडेलले जानकारी दिनुभएको देशसञ्चारले लेखेको छ । उहाँका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ वर्षीय र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए। त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ। तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ।