पछिल्लो २४ घण्टामा १४ जना कोरोना सङ्क्रमितको ज्यान गयो

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बाँके जिल्लामा मात्र पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण सात जनाको क्रममा मृत्यु भएको छ ।
आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीकाअनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ ।
जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । यस्तै राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ ।