नेपालमा सञ्चालित कोरोना विरुद्धको खोप अभियान स्थगित

नेपालमा हाल सञ्चालित कोरोना विरुद्धको खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताउनु भएको अनलाइन खबरले लेखेको छ ।
भारतले १० लाख खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले सेरमसँग २० लाख डोज खरिद गर्न अग्रिम भुक्तानीसमेत गरेको थियो । त्यसमध्ये १० लाख डोज आएपछि फागुन २३ देखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरिएको थियो ।
शर्माका अनुसार बुधबारसम्म १६ लाख ७३ हजार २२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । तर सेरमले दिन बाँकी १० लाख डोज खोप दिन आनाकानी गरेपछि खोप अभियान नै रोकिएको छ । पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिनुपर्ने भएकाले खोप सुरक्षित गर्नु परेको खोप शाखाका प्रमुख डा. शर्माले बताउनु भयो ।