नेपालमा हरेक वर्ष मिर्गौलाका बिरामी बढ्दै, स्वस्थ्य व्यक्तिले पनि नियमित जाँच गरिरहन सुझाव

छहारी संवाददाता
फाल्गुन २७, २०७७

बिहीवार अन्तर्राष्ट्रिय मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने हुने डाक्टरको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको डाक्टरले बताएका छन् ।

नेपालमा हरेक वर्ष तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको देखिएको छ । नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरले सुझाव सदएको उज्यालो अनलाइनले लेखेको छ । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ ।

केही वर्ष अघिसम्म मिर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न नेपाली नागरिक भारतलगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा धेरैको प्रत्यारोपण गर्दै आएको छ । केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण हुने गरेकोमा अहिले स्थगित भएको छ ।

नेपालमा वीर अस्पतालबाट सन् १९९८ देखि पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो । अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*