नेपालको ८० प्रतिशत जनसङ्ख्या धुमपानबाट प्रभावितः नेपाल अर्बुद रोग निवारण संस्था

नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालको ८० प्रतिशत जनसङ्ख्या धुमपानबाट प्रभावित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । संस्थाले आज हेटौडामा पत्रकार भेटघाटको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
प्रत्यक्ष सेवनकर्ता तथा सेवनकर्ताको प्रत्यक्ष सम्पर्कमा आएर प्रभावित भएकाहरुको संख्याबाट यो तथ्याङ्क तयार गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विक्रम विष्टले जानकारी दिनुभयो । उहाँले सुर्तिजन्य पदार्थको प्रयोगले परिवारलाई विपन्न बनाएको समेत बताउनुभयो ।
व्यक्तिलाई सुर्तिजन्य पदार्थको आदत हटाउन समय लाग्ने भएकोले यसको प्रयोगलाई हटाउन सुरुबाटै टाढै रहने उपायहरु अबलम्बन गर्ने तर्फ तीन तहको सरकारले सोच्नु पर्ने बेला आएको संस्थाका महासचिव विमल होडाले बताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थको प्रयोग अन्त्य गर्न प्रेरित गर्ने खालको फरक ढंगका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । सरकारले सुर्तीजन्य पदार्थमा लगाइएको कर बढाउनु पर्नेमा पनि संस्थाले जोड दिएको छ ।
संस्थाले भोली शनिवार बागमती प्रदेशको राजधानी हेटौडामा गोष्ठी आयोजना गरिने जानकारी दिएको छ । गोष्ठीमा सुर्तीजन्य पदार्थ विरुद्ध गरिँदै आएको कार्यक्रमहरुलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी बृहद छलफल गरी हेटौडा घोषण पत्र जारी गर्ने संस्थाले जनाएको छ ।
संस्थाका जिल्ला अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थाका प्रदेश संयोजक गणेश कोइराला, अर्थ मन्त्रालयमा पूर्व उपसचिव देवी शर्मा लगायतको उपस्थिती रहेको थियो ।