विश्व ब्याडमिन्टनको जुनियर तर्फको वरीयता प्रिन्स तेस्रो स्थानमा उक्लिए
विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ ।
\विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको वरीयताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको वरीयतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहनुभएको छ, उज्यालो अनलाइनले लेखेको छ ।
विश्व वरीयतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिनुभएको छ । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहनुभएको थियो । नेपालका जुनियर खेलाडी दाहालले पाउनुभएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताउनुभयो ।
उहाँ पुष्पलाल स्मृति र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा हुनुहुन्छ । दाहाल शुक्रबार भएको क्वार्टरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गर्नुभएको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल अहिलेसम्म कुनै पनि विभागीय क्लबमा आबद्ध हुनुभएको छैन । उहाँ आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आउनुभएको छ ।
विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको वरीयतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । विसं २०७६ मङ्सिरमा जारी विश्व वरीयतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम हप्ता १०औँ स्थानमा उक्लिनुभएको थियो ।
दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल अहिले ललितपुरको जाउलाखेलमा रहेको डाँफे इङ्गलिस बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत हुनुहुन्छ । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व वरीयता निर्धारण गर्दै आएको छ ।







