सोमबार पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती

छहारी संवाददाता
पुस २७, २०७७

आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।

काठमाण्डौ, गोरखा, नुवाकोट लगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाण्डौको भृकुटीमण्डपमा विशेष कार्यक्रमको तयारी गरेको छ, उज्यालो अनलाइनले लेखेको छ । सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाण्डौसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो । वि।सं। १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बन्नुभएको थियो ।पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ ।

आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।

देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् दिनेशराज पन्तले बताउनुभयो

। पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उहाँको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आलोचना समेत हुँदै आएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको उल्लेख गर्नुभएको छ । पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*