ओलीको असंवैधानिक कदम विरुद्ध प्रचण्ड/नेपाल समूहद्धारा कलैयामा पनि विरोध प्रर्दशन
केपी ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड र नेपाल समूहले मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । देशका विभिन्न जिल्लाहरुमा जस्तै बाराको कलैया उपमहानगरपालिकामा पनि सो समूहले विशाल जनप्रदर्शन सहित विरोध सभा आयोजना गरेको थियो ।
कलैयाको भरतचोकमा भएको विरोध सभामा प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुरले ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका बिरूद्ध डटेर लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले ओली निरंकुश ढंगले अघि बढेको आरोप लगाउनुभयो ।

यस्तै कार्यक्रममा पूर्व यूवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णय नेपालको संविधान २०७२ खारेज गर्ने खालको भएको आरोप लगाउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले दईतिहाई बहुमतले काम गरिरहेको भ्रम फैलाईरहे पनि विभिन्न राजनितिक दल, नागरिक समाज, बुद्धिजिवी र जनता ओलीको पछिल्लो कदम विरुद्ध रहेको बताउनुभयो । उहाँले बहुमतको सरकारले तिन वर्षे कार्यकालमा देश र जनताको लागि कुनै काम नगरेको आरोप समेत लगाउनुभयो ।

विरोधसभामा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, पूर्व सांसद शिवचन्द्र कुशवाह, महिला नेतृ विभा कार्की, पूर्व जिल्ला सभापति छट्टु प्रसाद यादव लगायतको आतिथ्यता रहेको थियो । नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल)को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको हो ।







