संसद् विघटन पछिको सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौमा ठूलो संख्यामा प्रहरी परिचालन
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि हुने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् ।
सिंहदरबारको चारैतर्फका सडक, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, शीतल निवास, निर्वाचन आयोग वरपर र भिडभाड हुने अन्य ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ, उज्यालो अनलाइनले लेखेको छ ।
सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । यसैबीच संसद् विघटनपछिको अवस्थाबारे आइतबार दिउँसो सैनिक मुख्यालय भद्रकालीमा छलफल भएको छ ।
देशैभरका पृतना, गुल्म तथा ब्यारेकलाई चनाखो रहन मुख्यालयले सूचना पठाएको सैनिक स्रोतले जनाएको छ । सरकारबाट आउने निर्देशनअनुसार परिचालनको लागि तयारी अवस्थामा रहेको पनि सैनिक स्रोतको भनाइ छ ।







