संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

छहारी संवाददाता
पुस १, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ।

बुधबार दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तत्काल अधिवशेन आह्वान गर्न माग गर्दै अध्यादेश फिर्ता लिन माग गरेको हो, देशसञ्चारले लेखेको छ।

बैठकले मंगलबार जारी भएको संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। बैठकपछि विश्वप्रकाश शर्माले भने, ‘संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ।’

कांग्रेसले अध्यादेशपछि परिषदले कुनै निर्णय गरेको भए त्यसलाई अस्वीकार गर्ने निर्णय समेत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले भने, ‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई मान्य नहुने चेतावनी दिँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ।’

बैठकले अध्यादेश जारी भएपछि उत्पन्न भएको परिस्थितिका बारेमा छलफल गर्न शुक्रबार संसदीय कार्य दलको बैठक समेत बोलाएको छ। कांग्रेसले उखु किसानको बक्यौता तत्काल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*