डोटी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

छहारी संवाददाता
मंसिर २१, २०७७

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् । सिंहका अनुसार दुर्घटनामा घाइते भएकाहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ ।

उहाँका अनुसार मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका–६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी ९अवस्थी०, उनीकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका–४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट छन् ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट शनिबार राति नै प्रहरी निरीक्षक रवीन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको र घाइते चारैजनाको उद्धार गरी दिपायल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*