च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सको सहज जित

छहारी संवाददाता
१८ मंसिर २०७७, बिहीबार १०:००

स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा सहज जित हात पारेका छन् ।

समूह जीबाट यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका बार्सिलोना र युभेन्ट्सले क्रमशस् फेरेन्सिभारोस र डिनाभमो किभलाई समान ३-० ले पराजित गरेको हो । फेरेन्सिभारोसको मैदानमा भएको खेलमा बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४औं मिनेटमा एन्टोइन ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै अग्रता दोब्बर पारे । २८औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत बार्सिलोनाका लागि तेस्रो गोल गरे । समूह जी मा अपराजित रहेको बार्सिलोना ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।

यस्तै युभेन्ट्सले पनि घरेलु मैदानमा सहज जित हात पार्दा तीन फरक खेलाडीले गोल गरे । २१औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा युभेन्ट्सले दुई गोल थप्यो ।

क्रिस्टियानो रोनाल्डोले ५७औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सका लागि तेस्रो गोल गरे । चौथो जितपछि १२ अंकसहित युभेन्ट्स दोस्रो स्थानमा छ ।

किभ र फेरेन्सिभारोसमा समान १ अंक छ । समूहको अन्तिम खेलमा अब बार्सिलोनाले युभेन्ट्ससँग खेल्नेछ भने डिनामो किभ र फेरेन्सिभारोस युरोपा लिग पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुने टिम युरोपा लिगका लागि छनोट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*