नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

छहारी संवाददाता
मंसिर १४, २०७७

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।

महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो ।

त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो । त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*