नवराज विकसहित ६ जनाको हत्या आरोपी पाँचजना धरौटीमा रिहा
गत जेठमा रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपी मध्ये पाँचजना धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत सुर्खेतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका २३ जना मध्ये पाँचजनालाई सुर्खेत उच्च अदालतले बिहीबार एक/एक लाख धरौटीमा थुना मुक्त गर्न आदेश दिएको हो, देशसञ्चारले लेखेको छ।
उच्च अदालत सुर्खेतका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रतिवादीहरु भीबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई एकरएक लाखमा रिहा गर्न आदेश दिएको हो।
जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकले मल्ल थरकी आफ्नी प्रेमिकालाई ल्याउन १९ जना साथीसहित रुकुम चौरजहारी पुग्दा केटी पक्षको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो।
नवराजसहितका ६ जना युवालाई केटी पक्षका आफन्तले लखेटी लखेटी हत्या गरेर भेरी नदिमा फालेको निष्कर्ष प्रहरी, सिआइबी र संसदीय छानबिन समितिले अनुसन्धानबाट निकालेको थियो।
घटनापछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यान, तथा जातीय छुवाछुत मुद्धामा अभियोगपत्र जिल्ला अदालत सुर्खेतमा दायर गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए। गत असोज २५ गते उच्च अदालत सुर्खेतले नै बालसुधार गृहबाट मुक्त गर्न आदेश दिएको थियो।







