उद्योग वाणिज्य महासंघको निर्वाचन तयारी पूरा

छहारी संवाददाता
मंसिर १२, २०७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए।

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले जानकारी दिए।

यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ, देशसञ्चारमा खबर छ। निर्वाचन विहान ८ बजेदेखि शुरु हुनेछ।

यस्तै शनिबार राति नै मतगणना सम्पन्न गर्ने गरी तयारी भइरहेको पनि उनले बताए। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन्। बाँकी पदहरुमा निर्वाचन हुनेछ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन्।

यस्तै वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ। जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्। एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*