कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या तीन करोड नाघ्यो

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसको संख्या तीन करोड नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख नाघेको तथ्याङ्कले देखाउँछ।
कोरोनाबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म त्यहाँ ६६,६९,३२२ भन्दा बढी संक्रमित भएका छन् भने १,९७,५८९ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो। मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।
ब्राजिलमा १,३४,१०६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३,१९८ जनाको मृत्यु भएको छ। यस्तै रुस १०,८१,१५२ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,४४,४०० जना संक्रमित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ। बीबीसी