कालीकोट पहिरोः मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना अझै वेपत्ता

छहारी संवाददाता
भदौ १५, २०७७

कालीकोटको तिलागुफा–१, नाग्म बजारमा खसेको पहिरोमा चार घर भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हो । २ जना भने अझै पहिरोमा हराइरहेका छन् ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन शनिबार राति भासिएर पहिरो खसेको थियो । सो क्रममा घरहरू भत्किएर ती घरभित्र रहेकाहरू पुरिएका थिए । पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएका २ जनालाई भने उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जनाइएको छ, न्युज २४ मा खबर छ । पुरिएकामध्ये १० को शव फेला परेको कालिकोट प्रहरीले जनाएको छ ।

पहिरोमा परेर शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवारका ४ जनाको मृत्यु भएको जनाइएको छ , जसमा ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कल रहेका छन्  ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाले सुरुमा ८ र केही घण्टापछि थप २ जनाको शव फेला परेको बताए  ।

बेपत्ता २ जनाको उद्धार तथा खोजी कार्य जारी रहेको पनि उनले बताए । उक्त कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन्  । सञ्चार अभावका कारण बेलैमा सूचना नपुग्दा उद्धार कार्यमा ढिलाइ भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*