कोरोना अपडेटः नेपालमा थप ११ सय संक्रमित फेला, आज मात्रै ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सरकारले कोरोना भाइरस परीक्षणको विवरण सार्वजनिक गर्न थाले यता यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यसअघि एक चोटि सङ्क्रमितको दैनिक वृद्धि भएको सङ्ख्याले १,००० नाघेको थियो। कोरोना भाइरस सङ्क्रमणका कारण थप आठ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।
अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोना भाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्, बीबीसीमा खबर छ। अहिले देशभरि १५,२७३ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रीफिङमा बताए। तीमध्ये ६,२१० जना घरमै र अन्य ९,०६३ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ३७७ जना छन्। यो पनि उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक दैनिक सङ्ख्या हो।







