कोरोना अपडेटः नेपालमा थप ७ जनाको मृत्यु, ८५५ संक्रमित, २४ घण्टामा ३१३ जना निको भए

छहारी संवाददाता
भदौ ९, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको तथा ८५५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाण्डौंमा एक महिलासहित तीन जना एवम् सिराहा, पर्सा, धनुषा र रूपन्देहीका एक(एक जना छन्। अहिले थपिएका संक्रमितमध्ये २३२ जना काठमाण्डोंका छन्, बीबीसीमा खबर छ ।

यो वृद्धिसँगै नेपालमा कोरोनाका मृत्यु हुनेको संख्या १६४ र संक्रमितको कुल संख्या ३३,५३३ पुगेको छ। सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । अहिले देशभरि १४,२५० जनामा सक्रिय संक्रमण रहेको डा. गौतमले बताउनुभयो । तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अहिले सबैभन्दा बढी सक्रिय संक्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र बागमती हुन्। मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। निको हुनेको कुल सङ्ख्या १९,११९ पुगेको छ। देशभरि क्वारन्टीनमा १०,४५३ जना छन्। लगत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*