कोरोना अपडेटः नेपालमा थप तीन संक्रमितको मृत्यु, मृतकको संख्या १४९ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । ८१८ जना सङ्क्रमित थपिएका छन् । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १६६ जना काठमाण्डू उपत्यकाका हुन्। अहिलेसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। नेपालमा अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो। त्यसैगरी सरकारले भदौ ५ गते ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।







