कोरोना अपडेटः नेपालमा थप दुई जनाको मृत्यु, देशभर मृत्यु हुनेको सङ्ख्या १०४ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ६४१ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,६६० पुगेको छ।
मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङ्गकी एक महिला रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ९,२२१ जनामा सक्रिय सङ्क्रमण छ भने १७,३३५ जना भाइरसमुक्त भएका छन्, बीबीसीले लेखेको छ । आइतवार पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्ला गरी १७२ जना सङ्क्रमित रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा ९५८ जना, गण्डकी प्रदेशमा २८० जना, प्रदेश नं ५ मा ८२१ जना, कर्णाली प्रदेशमा २२२ जना र सुदूरपश्चिम प्रदेशमा ७८२ जना सक्रिय सङ्क्रमित रहेका छन्। अन्य ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाण्डू, मोरङ्ग, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।







