कोरोना अपडेटः नेपालमा थप ८ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या २४ हजार नाघ्यो
नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ। सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ, बीबीसीमा खबर छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ। उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए। विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।
मृतकहरू मध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक/एक जना छन्। ती मध्ये दुई महिला र छ पुरुष छन्। उनीहरू ३२ देखि ७८ वर्षका थिए।







