अर्थ मन्त्रालयकाे निर्देशन: सार्वजनिक संस्थानका क्षेत्रमा सुधार र कटाैति
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७८मा नयाँ किसिमका कर्मचारी नियुक्तिमा मन्त्रालयले रोक लगाएको छ । स्वीकृत दरबन्दीबाहेक करार, दैनिक ज्यालादारी र अस्थायी पदमा नियुक्ति नगर्न मन्त्रालयको निर्देशन छ ।
त्यस्तै अागामि आर्थिक वर्षको बजेटमार्फत नै प्रशासनिक खर्चमा व्यापक कटौतीको लक्ष्य सार्वजनिक गरिएअनुसार तयारी गर्न सार्वजनिक संस्थान, बोर्ड, समिति र प्राधिकरणहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सार्वजनिक संस्थानका विभिन्न क्षेत्रमा सुधार र कटौतीको निर्देशन सम्बन्धित निकायहरूलाई दिएको हो ।
अर्थ मन्त्रालयले कार्यालय समयमा सम्पन्न गर्नुपर्ने कार्यहरू अतिरिक्त समय (ओटी)मा नसार्न निर्देशन दिएको छ तर विशेष प्रकृतिको छिटो सम्पन्न गर्नुपर्ने कामका लागि अतिरिक्त समय काम गर्नुपर्ने अवस्था भएमा त्यसका लागि जनशक्ति पहिचान गरी आवश्यकता, उत्पादन, सेवा प्रवाह समेतलाई ध्यानमा राखेर नतिजा स्पष्ट देखिने गरी मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालयको निर्देशन छ ।
मन्त्रालयले सार्वजनिक निकायहरूलाई साउन १५ भित्र आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना तयार गरेर सञ्चालक समितिबाट स्वीकृत गराउन पनि निर्देशन दिएको छ । साेहि अनुरुप व्यावसायिक योजना र कार्यबोझका आधारमा आवश्यकताअनुसार नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने भएमा कुल दरबन्दी नबढ्ने गरी मात्रै त्यसको प्रक्रिया अगाडि बढाउन भने सार्वजनिक संस्थानहरूले सक्नेछन् ।
स्वीकृत उक्त कार्ययोजना तालुक मन्त्रालय र अर्थ मन्त्रालयमा एक/एक प्रति उपलब्ध गराउने र त्यसैअनुसार कार्यान्वयन गर्नुपर्ने मन्त्रालयको निर्देशन छ । सञ्चालक समितिको बैठक सम्पन्न भएपछि प्रत्येक बैठकको निर्णयको प्रतिलिपि पनि तालुक मन्त्रालय र अर्थ मन्त्रालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको कुरा अाजकाे गाेरखापत्र दैनिकमा लेखिएकाे छ ।
प्रमुख कार्यकारी अधिकृतले सञ्चालक समितिसमक्ष र शाखा प्रमुखहरूले प्रमुख कार्यकारी अधिकृतसँग साउनभित्र कार्य सम्पादन सम्झौता गर्नुपर्ने निर्देशन पनि मन्त्रालयले दिएको छ । प्रमुख कार्यकारी अधिकृतसँग भएको कार्यसम्पादन सम्झौताको प्रगति मासिक रूपमा तालुक मन्त्रालयमा र वार्षिक मूल्याङ्कन गरी तालुक मन्त्रालय र अर्थ मन्त्रालयमा पनि पठाउनुपर्ने निर्देशन छ ।
त्यस्तै सार्वजनिक संस्थानहरूले कर्मचारीलाई काजमा खटाउँदा स्पष्ट काम र जिम्मेवारी तोकेर काज खटाउने तर लामो समयसम्म काजमा खटाउन भने नपाउने भएका छन्







