यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई नहुने

कोरोना भाइरसका कारण रोकिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई नहुने भएको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस वर्षका लागि एसइई गत चैत्र ६ गतेबाट हुने निर्धारित थियो । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले चैत ५ गते एसइई स्थगित गर्ने निर्णय गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बुधबारको मन्त्रिपरिषद् बैठकमा यसवर्षका लागि एसइई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा मन्त्रालयले सुझाव कार्यदल गठन गरेको थियो।
कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने जस्ता विकल्पसहित प्रतिवेदन बुझाएको थियो।







