आज कुबेतबाट दुईवटा विमानमा अधिकांश महिला सहित ३०० नेपालीहरु स्वदेश फर्किँदै

छहारी संवाददाता
जेष्ठ २९, २०७७

कुवेत सरकारकै पहलमा आज स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका दुई विमानहरु आउने तय भएको छ । 
कोभिड–१९ संकट व्यवस्थापन (सीसीएमसी) अन्तर्गत उडान व्यवस्थापनको जिम्मा पाएको पर्यटन मन्त्रालयका अनुसार  बिहीबार बिहान साढे ११ र दिउँसो साढे एक बजे गरी जजिरा एयरलाइन्सका दुई विमान नेपाली लिएर आउने छ ।

बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेको पर्यटन मन्त्रालयले जनायको छ । नेपाल आउने कामदारहरु विमानमा चढ्नु पूर्व स्वास्थ्य परीक्षण हुने र संक्रमणको शंका देखिएकालाई रोकिन सक्छनेछन् । दुई विमानमा १५० का दरले कुल ३०० नेपाली कामदार आउने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् । 

नेपालीलाई लिएर विमान बुधबार नै आउने तयारी रहेको बताइए पनि व्यवस्थापनको प्रक्रियाले गर्दा एक दिन ढिला भएको जनाइएको छ । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाउन लागेको हो । कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको बताइन्छ ।

गएको शुक्रबार एयर अरेबियाले दुबईबाट १६८ नेपाली कामदार लिएर आएको थियो । यस्तै म्यानमारबाट पनि २६ नेपाली आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*