कोरोना भाईरसविरुद्ध एकतावद्ध भएर लडन प्रदेश र स्थानीय तहलाई सरकारको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरसविरुद्ध एकतावद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।
मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलगायतका संवेदनशील वर्ग र समूदायमा कोरोना भाईरसको संक्रमण हुन नदिन तत्काल कार्ययोजना बनाउन पनि प्रदेश र स्थानीय तहको ध्यानाकर्षण गराउनु भयो ।
त्यसका लागि आवश्यक कार्यसम्पादन गर्न प्रदेश स्तरीय, नगरस्तरीय र पालिकास्तरीय समिति बनाएर काम गर्न संघीय सरकारले कार्य योजना बनाएको उहाँको भनाई थियो, सीआईएनले लेखेको छ ।
आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरस विरुद्धको लडाईमा सफलता हासिल गर्न प्रदेश र स्थानीय तहसँग जीवन्त सम्बन्ध राखेर अघि बढन संघीय सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
‘कोरोना भाइरसविरुद्धको लडाईमा एकतावद्ध भएर अघि बढ्न म सबै प्रदेश र स्थानीय तहलाई आह्वान गर्दछु;,’ मन्त्री गुरुङले भन्नु भयो ।







