क्वारेन्टाइनमै रोग सर्ने चिन्ता !

छहारी संवाददाता
जेष्ठ ६, २०७७

मुगुको खत्याड गाउँपालिका-८ का ३० वर्षीय दीपक परियार अहिले कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा छन् । भारतको मथुरामा रोजगारी गर्दै आएका उनलाई कोरोना महामारीको कारण देखाउँदै मालिकले घर जान भने । उनी स्वदेश फर्किने सपना बोक्दै चार महिनाको बच्चा र श्रीमतीसहित नेपाल आए ।

तर उनको आफ्नो गाउँ यात्रा भारतको पालियामै रोकियो । उनले भारत सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १० दिन बिताए । दुई देशको सहमतिपछि उनी शुक्रबार आफ्नो देश प्रवेश गर्न त पाए तर आफ्नो जिल्ला अनि गाउँ भने पुग्न पाएका छैनन् ।

‘मेरो घर मुगु र बाजुराको सिमानामा पर्छ’ दीपक भन्छन् ‘बुवाले फोनमा यता आएर क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभएको थियो, तर त्यहाँ कसरी पुग्ने ?’ उनी बाजुराको हिमाली गाउँपालिका हुँदै डोटी जानुपर्छ । हाल कैलालीमै रोकिएका उनी क्वारेन्टाइनमा पाउने सुविधा नेपालमा भन्दा भारतमा राम्रो रहेको बताउँछन् । ‘खाना अलि ढिलो गरी आउँथ्यो तर राम्रै आउँथ्यो’ उनले भने, ‘यहाँ त न खाना राम्रो छ न बस्न ।’

चार महिनाको बच्चा बोक्दै उनी छटपटाइरहेका छन् । उनलाई आफूभन्दा पनि बच्चाको बढी चिन्ता छ । साथमा भएको रकम पनि सकिएपछि झन् समस्यामा परेका छन् । उनी अरु जिल्लाका मान्छेलाई सम्बन्धित स्थानीय तहले उद्धार गरेर लगेको सुन्छन्, आफ्नोले पनि लैजाने हो कि भन्ने आश गर्छन् तर सम्पर्क छैन । ‘गाउँपालिकाका अध्यक्षको नाम उज्वनबहादुर शाही हो’ दीपक भन्छन् ‘तर उहाँको सम्पर्क नम्बर मसंग छैन ।’

सीमा नाकामै उनको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट भएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर उनी क्वारेन्टाइनमा आउने अन्य व्यक्तिसँग सशंकित छन् । ‘व्यवस्थित छैन क्वारेन्टाइन,’ उनी भन्छन् ‘क्वारेन्टाइनमै बसेका बेला रोग सर्छ कि भन्ने पो चिन्ता लाग्न थाल्यो ।’

घर पुग्ने चिन्ता

डोटी सायल गाउँपालिका-३ का दिलबहादुर भुलको पीडा पनि उस्तै छ । श्रम बेच्न भारतको दिल्ली पुगेका उनले आफ्नै देशमा प्रवेश पाउन कम्ती दुःख खेप्नु परेन । ‘मालिकले अब कोरोना फैलियो, काम दिन सक्दैन तिमी घर जाऊ भनेर पठायो’ दिलबहादुर भन्छन् ‘घर आउन खोज्दा १५ दिन पलियाको क्वारेन्टाइनमा बस्नु पर्‍यो ।’ शुक्रबार नेपाल प्रवेश पाउँदा उनी निकै हषिर्त भएका थिए ।

उनलाई अब आफ्नो गाउँ जान पाइने आश थियो तर विस्तारै उनको त्यो आश धुमिलिदैछ । ‘वडाध्यक्षलाई फोन गरेँ, उहाँले दिपायलसम्म आफैं आउनुपर्छ भन्नु भयो’ उनी भन्छन् ‘दिपायल पुग्नलाई न आफूसंग पैसा छ न गाडी छ ।’ उनले यति भनेपछि वडाध्यक्षले केही उपाय निकाल्छु भनेका छन् ।

यस्तै पीडामा छन् दिपायल सिलगढी नगरपालिका-१ का नवीन साउद पनि । उनी भन्छन् ‘आफ्नै जिल्ला जान पाएको भए क्वारेन्टाइनमा बस्ने थियौं ।’

कैलाली बहुमुखी क्याम्पस कैलालीको क्वारेन्टाइनमा रहेका डोटीका सात, अछामका ६, बाजुराका तीन र मुगुका तीनजना घर जाने बाटो खोज्दैछन् ।

आफूले सम्बन्धित जिल्ला र स्थानीय तहहरुलाई यस बारेमा जानकारी गराइसकेको तर खासै पहल नभएको बताउँछन् जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी । उनले भने ‘मैले सम्बन्धित स्थानीय तहहरुलाई पहल गरी लैजान आग्रह गरेको छु, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुलाई पनि आग्रह गरेँ तर अहिलेसम्म खासै पहल भएको छैन ।’

यस बिषयमा आफूलाई कुनै स्पष्ट निर्देशन नभएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल बताउँछन् । ‘अहिलेसम्म सिमाना जोडिएका जिल्लाहरुले पहल गरेर पठाउँदै आएका थिए’ पौडेलले भने, ‘त्यसरी नै उहाँहरुले गाडीको व्यवस्था गरेर सम्बन्धित जिल्लामा पठाउनुपर्ने हो, हामीलाई यस बारेमा कुनै ठोस् निर्देशन छैन,’ उनले थपे ‘तर मैले कैलाली प्रशासन कार्यालयका सूचना अधिकारी जोशीलाई एउटा बस खोजेर डोटी, अछाम र बाजुराका मान्छेलाई डोटीसम्म पुर्‍याउने व्यवस्था गरिदिनुहोस्, म यताबाट बाजुरा र अछाम पठाउने व्यवस्था गर्छु भनेको छु ।’

आफूले डोटीसम्म आउने गाडीको भाडाका लागि दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकाका प्रमुखहरुसँग पनि कुरा गरिसकेको र उनीहरु पनि खर्च व्यहोर्न तयार रहेको पौडेलले बताए ।

प्रजिअ पौडेल भन्छन् ‘अब यताबाट प्रत्येक स्थानीय तहले एक जना/दुई जना ल्याउनका लागि छुट्टाछुट्टै गाडी पठाउन सम्भव छैन, हामी सबैले मिलेर समस्या समाधान गर्ने हो ।’ 

साभारः आनलाइनखबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*