स्वास्थ्य सामग्री लिन वाइडवडी विमान भोलि चीन जाँदै

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि चीन जाँदै छ । पहिलो चरणको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि भोलि साँझ वाइडबडी त्यसतर्फ जान लागेको हो ।
भोलि बेलुका जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याएर फर्किने नेपाली सेनाले जनाएको छ । पीसीआर परीक्षणका लागि चाहिने किट, व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, पञ्जा, चस्मा लगायतका सामग्री पहिलो चरणमा आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो, सीआईएनमा खबर छ ।
ओम्नीसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । तर, सेनाले पनि लामो समयसम्म स्वास्थ्य सामग्री ल्याउन नसकेको भन्दै विपक्षी दलले आलोचना गरेको थियो ।
सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।







