नीति तथा कार्यक्रममा पाँचवटा संसोधन प्रस्ताव  

छहारी संवाददाता
जेष्ठ ४, २०७७

सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँचवटा संशोधन दर्ता भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुभएको थियो ।

नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका सांसद डा मिनेन्द्र रिजालले संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगतलाई मर्यादित र अनुशासित बनाउने उल्लेख भएकोे भन्दै पहिले सरकार आफू मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले ठोस कार्यक्रम नीतिमा नभएको धारणा व्यक्त गर्दै अप्ठ्यारोमा परेका जनतालाई तत्कालको समस्या समाधानका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ, सीआईएनले लेखेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको तर्फबाट संयुक्त संशोधन प्रस्ताव प्रस्तुत गर्दै लक्ष्मणलाल कर्णले कृषि, उद्योग, पर्यटन, श्रमलगायत सबै क्षेत्रलाई तत्काल राहतको आवश्यकता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा कृषि प्राथमिकतामा नपरेको भन्दै संविधान संशोधन र सबैका अधिकार सुनिश्चित गर्न र लाल आयोगको प्रतिवेदन प्रकाशन गर्न मााग गर्नुभयो ।

अर्का संशोधन प्रस्तावकर्ता प्रेम सुवालले समाजवाद उन्मुख लेखेर मात्रै नहुने भन्दै त्यसका लागि उत्पादनका मुख्य साधनलाई सामाजीकरण गरी व्यक्तिलाई होइन समग्र जनतालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

संशोधन प्रस्तावकर्ता सरिता गिरीले नीति कार्यक्रम परम्परागत र औपचरिकतामा सीमित भएको आरोप लगाउँदै कोरोनाबाट परेको प्रभाव र जनतालाई राहतका बारेमा खासै सम्बोधन नगरेको टिप्पणी गर्नुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*