सरकारको नीति तथा कार्यक्रमः कोरोनाका कारण व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिने 

छहारी संवाददाता
जेष्ठ २, २०७७

सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट मृत्यु हुने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताउनुभएको हो । उहाँले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उहाँले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताउनुभयो, सीआईएनले लेखेको छ । त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले आज सबैलाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको हो ।

नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि उहाँले सबैलाई आग्रह गर्दै उहाँले अग्रस्थानमा खटिनेलाई धन्यवाद दिनुभएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*