कोरोना अपडेटः नेपालमा आज २६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २४३ पुग्यो

स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण बुधवार सार्वजनिक गरेसँगै नेपालमा कोरोनाभाइरस पुष्टि हुनेको सङ्ख्या २ सय ४३ पुगेको छ ।
पछिल्लो सङ्क्रमण देखिएका व्यक्तिहरू रूपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासी र बाँके जिल्लाको भएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ, बीबीसीले लेखेको छ। बुधवार अपराह्ण मन्त्रालयले दुई जनामा सङ्क्रमण देखिएको बताएको थियो। यसअघि मङ्गलवार एकै दिनमा ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।
सङ्क्रमित पुष्टि हुनेमा रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा दुई पुरुष र एक महिला र नवलपरासीमा एक पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएका परीक्षणमा पछिल्ला २४ वटा सङ्क्रमण पुष्टि भएको भनिएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ३,०४९ परीक्षण गरिएको अपराह्ण स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए।
उनले २,३५७ परीक्षण पीसीआर विधिबाट र ६९२ परीक्षण आरडीटी विधिबाट गरिएको जानकारी दिए। हालसम्म देशभर पीसीआर विधिबाट २१,३०० भन्दा बढी र आरडीटी विधिबाट लगभग ६०,४०० परीक्षण गरिएका छन्।







