नेकपा स्थायी कमिटी बैठकमा लिपुलेक र नीति तथा कार्यक्रमबारे छलफल हुने

छहारी संवाददाता
बैशाख ३१, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने जनाइएको छ ।

यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उहाँ निकटका सदस्यको अनिच्छाका कारण बैठक स्थगित गरिएको थियो ।

त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत हुनुभएको थिएन । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यलाई बैठकमा बोलाइएको छ, सीआईएनमा खबर छ ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । त्यसपछि सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न भन्दै २४ गते बसेको सचिवालय बैठकमा ओली स्वास्थ्यको कारण देखाउँदै उठेर हिँडेपछि बैठक अनिश्चित भएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*