कोरोना अपडेटः १ लाख व्यक्तिको परीक्षण गर्न मिल्ने पिसिआर किट उपलब्ध

स्वास्थ्य सेवा विभागले १ लाख व्यक्तिको कोरोनाको परीक्षण गर्न मिल्ने पिसिआर किट उपलब्ध भएको बताएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले अब किट अभाव नहुने बताउनुभयो । उहाँका अनुसार अहिले सरकारसँग रहेको किटले एक लाख व्यक्तिको पिसीआर जाँच गर्न सकिनेछ ।
हिजो सोमबारमात्र चीन सरकारले दिएको ४० हजार पिसिआर किट स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको छ । यसअघि पनि नेपाललाई स्वीस सरकारले ३० हजार परीक्षण किट दिएको थियो।महानिर्देशक श्रेष्ठले किटहरूलाई आवश्यकता अनुसार सबै प्रयोगशालाहरूमा पठाइने बताउनुभयो, सीआईएनमा खबर छ।
अब प्रयोगशालाहरूमा किट अभावकै कारण परीक्षण रोकिने अवस्था नआउने श्रेष्ठको दाबी छ । गएको हप्ता किट अभावका कारण पाँच वटा प्रयोगशालाहरूमा परीक्षण रोकिएको थियो। स्वीस सरकारले दिएको किट पठाएपछि पुनः प्रयोगशालाहरूमा परीक्षण सुचारू भएको थियो ।
किट आएसँगै परीक्षणको दायरा बढेको पनि सरकारको भनाइ छ । अहिले दैनिक एक हजार व्यक्तिको परीक्षण हुँदै आएको छ।पछिल्लो दिनमा संक्रमित संख्या बढेसँगै सरकारले कोरोना परीक्षणको दायरा बढाएको हो ।







