संक्रमण देखिएपछि जेठ पाँच गतेसम्म कपिलवस्तु बन्द

कपिलवस्तु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ पाँच गतेसम्म जिल्लालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो । सरकारले जारी गरेको बन्दाबन्दी पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा आज मात्रै १० जनामा कोरोना सक्रमण पुष्टि भएको थियो ।
प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन् । मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान सात देखि नौ बजेसम्मको समय दिइएको छ ।







