पीसीआर परीक्षण बढाउँदै लकडाउन खुकुलो गर्न संसदीय समितिको निर्देशन 

छहारी संवाददाता
बैशाख ३०, २०७७

संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउँदै लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन, आइसोलेसन बेड पर्याप्त मात्रामा निर्माण गर्न, किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजार सम्म पु¥याउने वातावरण सहज बनाउनसमेत सरकारलाई निर्देशन दिएको छ, सीहाईएनमा खबर छ ।

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसलाई सङ्क्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताउनुभयो ।

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपाली क्वारेन्टाइनमा रहेको जानकारी गराउनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटको आधारमा कन्ट्याक्ट ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरिएको बताउनुभयो । पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको मन्त्री ढकालले जानकारी दिनुभएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*