नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ सय २१, आजै मात्र ११ जना संक्रमित भेटिए 

छहारी संवाददाता
बैशाख ३०, २०७७

नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ सय २१ पुगेको छ । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको जम्मा सङ्ख्या एक सय २१ पुगेको हो ।

आज प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षका युवक रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । ती युवक चितवनबाट सप्तरीस्थित घर फर्किएका थिए ।

कोरोना सङ्क्रमणको आशंकामा वैशाख २५ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो,सीआईएनमा खबर छ ।

यसअघि आज बिहान कपिलवस्तुमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा आज सङ्क्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् ।
कहाँ कती संक्रमित
हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौँमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा दुई–दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुईजनामा पीसीआर परीक्षणमा कोरोना देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षकापुरुषको पनि पीसीआर रिपोर्टमा कोरोना देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*