आर्थिक वृद्धिदर २ दशमलब २७ प्रतिशतमा झर्ने
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलब २७ प्रतिशतमा झर्ने भएको छ । केन्द्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २दशमलब २७ प्रतिशतमा खुम्चिने भएको हो ।
सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८ दशमलब ५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, चालु आर्थिक बर्षको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर खुम्चिने भएको विभागले जनाएको छ ।
यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलब ७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६ दशमलब ३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको छ ।







