कोरोना अपडेटः ४ जना संक्रमित निको भई घर फर्किए, आजै थप २ मा कोरोना पुष्टि

नेपालमा थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आज निको भएर घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको चौथो र पाँचौ रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि अस्पताल भर्ना भएको १५ औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ, सीआईएनमा खबर छ ।
हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसमध्ये ३५ जना उपचाररत छन् । आज पर्साको वीरगञ्जमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तावका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएका दुवै जना वीरगञ्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् ।







