कोरोना अपडेटः नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

झापामा एकजनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो राति थप एकजनामा कोरोना भएको पुष्टि भएको छ ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार झापाका ६२ बर्षका पुरुषमा कोरोना पुटि भएको हो । संक्रमित ती व्यक्ति आइसोलेशनमा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत १९ बर्षिय कोरोना सङ्क्रमित युवती निको भएर घर फर्किएकी छन् । उनको पाँचौं र छैठौं पटकको नमूना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ अर्थात उनमा कोरोनाको संक्रमण हटेको ठहर भएपछि हिजो राती १० बजे अस्पताललले डिस्चार्ज गरेको हो ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उहाँलाई १५ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ सवार विमानमा आएकी काठमाडौंकी १९ बर्षिय युवतीलाई भाइरसको संक्रमण पुष्टि भएपछि उनको पनि परीक्षण गरिएको थियो ।
घर फर्कने क्रममा ती युवतीले कोरोना जित्नुमा आत्मविश्वास, धैर्यता र र सन्तुलित खाना आवश्यक हुने बताउनुभएको रेडियो शालिग्राम पर्वतले खबर पठाएको छ ।







