कोरोना अपडेटः विश्वभर सङ्क्रमित साढे २५ लाख नाघे, ६ लाख ९५ हजारभन्दा धेरै निको

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या साढे २५ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २५ लाख ५७ हजार ९ सयभन्दा धेरै भएको छ ।
सङ्क्रमितमध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना उपचारपछि निको भएका छन् । १६ लाख ८४ हजारभन्दा धेरैको उपचार भइरहेको छ ।
उपचार गराइरहेका मध्ये ५७ हजारभन्दा धेरै अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी १६ लाख २७ हजारभन्दा धेरै अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य छ। अहिलेसम्म एक लाख ७७ हजारभन्दा धेरैको ज्यान गएको छ, उज्यालो अनलाइनमा समाचार छ ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै आठ लाख १९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा २४ हजार ६ सयभन्दा धेरै, स्पेनमा २१ हजार दुई सयभन्दा धेरै, फ्रान्समा साढे २० हजार सात सयभन्दा धेरै र बेलायतमा १७ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ९ सय नाघेको छ भने अहिलेसम्म ६ सय ४० जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना निको भएको भारतको परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ ।







