कोरोनालाई जित्ने नेपालीको सङ्ख्या तिन पुग्यो, अर्का एक युवालाई पनि डिस्चार्ज गर्ने तयारी

आत्मबल, खानपान र सावधानीले कोरोनालाई जित्न सकिने प्रतिक्रिया
छहारी संवाददाता
बैशाख ७, २०७७

६५ वर्षिय महिला नोबेल कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किएसंगै कोरोनालाई जित्ने नेपालीको सङ्ख्या तिन पुगेको छ ।

धौलागिरी अस्पतालमा उपचाररत ६५ वर्षकी मनकुमारी पौडेल कोरोना निको पारेर शनिवार साँझ घर फर्कनुभएको हो । लगातार दुई पटकको जाँचमा कोरोना नभएको पाइएपछि उहाँलाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । मनकुमारीलाई चैत २० गते कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो ।

यस्तै सहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्मको उपचार पछि काठमाडौँकी प्रसिद्धि श्रेष्ठ पूर्ण रूपमा स्वस्थ भई शनिवार बिहान घर फर्कनु भएको छ । शनिवारको रिपोर्ट पनि नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पौडेल र श्रेष्ठ गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आउपुग्नु भएको थियो । एउटै जहाजमा आएका अर्का युवतीको भने धौलागिरी अस्पतालमा नै उपचार भइरहेको छ । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । शनिवार डिस्चार्ज हुने पौडेल र श्रेष्ठसंगै नेपालमा कोरोना सङ्क्रमण जित्ने नेपालीको सङ्ख्या ३ पुगेको छ । घर फर्किएकाहरुले आत्मबल, खानपान र सावधानीले कोरोनालाई जित्न सकिने प्रतिक्रिया दिएका छन् ।

यसैबीच दुईसाता अघि कोरोना देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका एक युवाको पनि पीसीआर परिक्षण नतिजा नेगेटिभ अर्थात कोरोना नभएको पाइएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार धनगढी कै प्रयोगशालामा शनिवार गरिएको दोस्रो परीक्षणको नतिजामा कोरोना नभएको पाइएको हो । अर्को पटक पनि ती युवामा कोरोना नभएको रिपोर्ट आएमा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*